दफा ५०
अधिकार क्षेत्र नभएको वा वेरितको भएमा दरपीठ गर्नु पर्ने
(१) कुनै अभियोगपत्र वा उजुरीको व्यहोराबाट त्यस्तो उजुरी सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने आफ्नाे अधिकार क्षेत्र नभएको वा रीत नपुर्याई दर्ता गर्न ल्याएको देखिएमा अदालतले सोहीे कुरा उल्लेख गरी त्यस्तो अभियोगपत्र वा उजुरी दरपीठ गरी दिनु पर्नेछ ।
(२) अधिकार क्षेत्र नभएको कारणले उपदफा (१) बमोजिम दरपीठ भएको उजुरीको विषयमा मुद्दा गर्नु पर्ने अन्तिम हदम्याद दरपीठ भएको दिनसम्म रहेछ भने प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो उजुरी गर्ने ब्यक्तिले सो दिनबाट बाटोको म्याद बाहेक पन्ध्र दिनभित्र दर्ता गर्न ल्याएमा अधिकार क्षेत्र भएको अदालतले कानून बमोजिम दर्ता गरिदिनु पर्नेछ ।